काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमाससम्ममा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार ६९२ मेट्रिक टन मल आयात भएको हो । कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया, डीएपी र पोटास मल आयात गरिएको हो ।
मन्त्रालयका अनुसार नौ महिनामा १ लाख ६६ हजार ८३४ मेट्रिक टन युरिया आयात भएको छ । यस्तै ८९ हजार ५९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ मेट्रिक टन पोटास आयात भएको छ ।
सो अवधिमा कृषि सामग्री लिमिटेडले १ लाख ४२ हजार ५४९ मेट्रिक टन युरिया, ८९ हजार ५९२ मेट्रिक टन डिएपी डीएपी र १ हजार १९० मेट्रिक छन पोटास मल आयात गरेको छ । त्यस्तै साल्ट्र ट्रेडिङ कम्पनीले २ लाख ४२ हजार २५४ मेट्रिक टन युरिया र ५ हजार ७५ मेट्रिक टन पापोटास मल आयात गरेको छ ।
कति छ मौजदात ?
हाल सरकारसँग गत आर्थिक वर्ष २०८०/०८१ को सहित गरी ६१ हजार २५९ रासायनिक मल मौज्दात छ, यसमध्ये युरिया १८ हजार ३१६ मेट्रिक टन, डीएपी ३० हजार ८०८ र पोटास १२ हजार १३४ मेट्रिक टन मौज्दात रहेको छ । कृषि सामग्री लिमिटेडसँग ५२ हजार १६ टन र साल्ट्र ट्रेडिङ कम्पनीसँग ९ हजार २४० मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
३ लाखभन्दा बढी टन मल बिक्री
चालू आवको साउन देखि चैत ३१ गते सम्म ३ लाख ६ हजार २०९ मेट्रिक रासायनिक मल बिक्री गरेको छ, जसमध्ये साल्ट ट्रेडिङ कम्पनीले ६० हजार २७८ मेट्रिक टन र कृषि सामग्री कम्पनी लिमिटेडले २ लाख ४५ हजार ३३१ मल बिक्री गरेको मन्त्रालयले जनाएको छ । दुवै कम्पनी गरी चैतसम्ममा युरिया १ लाख ८८ हजार २५०, डीएपी १ लाख ६ हजार ५३ टन र पोटास ११ हजार ९०६ मेट्रिक टन बिक्री गरेको छ ।
यसैगरी ९३ हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने क्रममा रहेको मन्त्रालयले जनाएको । साल्ट्र ट्रेडिङ ककर्पोरेसनले थप ३० हजार मेट्रिक टन युरिया कोलकाताबाट ल्याउने क्रममा रहेको जनाएको छ ।
अर्काे ३० हजार मेट्रिक टन युरिया र ३३ हजार मेट्रिक टन डीएपी मल कृषि सामग्री कम्पनी लिमिटेडले ल्याउँदै छ । कोलकोत्ताबाट आयात भएको उक्त परिमाणको मल वैशाख तेस्रो साताबाट नेपाल प्रवेश हुने जनाएको छ ।
त्यस्तै ३३ हजार मेट्रिक डिएपी मल वैशाख २० गते सम्म कोलकोत्ता आइपुग्ने र जेठको पहिलो साता नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।
चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।