काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने लागेको जनाएको छ ।
राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै ३ सय ६६ दिनको मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो । उक्त रकम १६ वैशाख २०८२ देखि १६ वैशाख २०८३ सम्मका लागि लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले क वर्गको बाणिज्य बैंकहरुमा ४६ करोड ४० लाख रुपैयाँ, ख वर्गको राष्ट्रिय स्तरका विकास बैंकहरुमा ८ करोड ७० लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड ९० लाख रुपैयाँ लगानी गर्न लागिएको जनाएको छ ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्तावित ब्याजदर समेत खुलाई ११ वैशाख बिहान १० देखि दिउँसो १ः३० बजेभित्र आवेदन दिन भनिएको छ ।
मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ । त्यस्तै निक्षेप लिनका लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत, खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।