काठमाडौं, ११ वैशाख । यस साता भरी नै घटेको नेप्से कारोबारको अन्तिम दिन (बिहीबार) भने घटेको सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अङ्कले बढेर २ हजार ६ सय ५८ दशमलव ९४को विन्दुमा कायम भएको छ । बुधबार ३२ दशमलव ३८ अङ्कले घटेको नेप्से २ हजार ६५५ को विन्दुमा थियो । यसअघि चार कारोबार दिसम्म नेप्सेमा गिरावट आएको थियो ।
आज परिसूचमा आएको सुधारसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ५७ करोड १७ लाखको कारोबार हुँदा आज ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक किनबेच भएको छ ।
बिहीबार ३०८ धितोपत्र कारोबारमा आए, जसमध्ये १६१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८३ धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ समूहको उपसूचक बढेको छ । लगान समूहको उपसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूहको उपसूचक ०.३९ प्रतिशत, म्युचुअल फन्डको०.२५, हाइड्रोपावरको ०.२२, बैंकिङ समूहको ०.०३ प्रतिशतले बढेको छ ।
यस दिन होटल एन्ड टुरिजम समूहको उपसूचक सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको ०.८३, विकास बैंकको ०.७६, माइक्रोफाइनान्सको ०.४६, जीवन बीमाको ०.३२, निर्जीवन बीमाको ०.२८, उत्पादनमुलक समूहको ०.१७ र अन्य समूहको उपसूचक ०.१३ प्रतिशतले घटेको छ ।
बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढको छ । त्यस्तै ङादी ग्रुपको ७.५६, विन नेपाल लघुवित्तको ७.२९, युनिभर्सल पावरको ७.२० र राधी जलबिद्युतको ६.६८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज नेपाल हाइड्रो डेभलपर्सको शेयर मुल्य सबैभन्दा धेरै ७.१२ प्रतिशत घटेको छ । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ४.८५, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.२०, सिन्धु विकास बैंकको ४.१९, कुथेली बुखारी हाइड्रोपावरको ३.६६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल क्रमशः अगाडि छन् ।