काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।
घोषणसभा स्थलबाट नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।
उनले रेशम चौधरी पक्राउ परेकोमा भत्र्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको बताए ।
उनले घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् ।
आज बिहान ११ बजे हुने भनिएको एकता सभाका लागि दुबै दलका नेता–कार्यकर्ताहरु कमलादीस्थित प्रज्ञा भवन पुगिसकेका थिए । तर, १ बज्दासम्म पनि कार्यक्रम सुरु भएको थिएन ।
प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेको छ ।
२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए ।
उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० जेठ १५ गते गणतन्त्र दिवसका दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । त्यसपछि उनी डिल्लीबजार कारागारबाट ५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि रिहा भएका थिए ।
तर, उनको रिहाईको भोलिपल्टै टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती कडायतले उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।