काठमाडौं, २१ वैशाख । नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातको समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग मानिने यो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जनाएको छ ।
काठमाडौँबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ ।
‘उक्त स्थानमा रोकिएका सबै सवारी साधनहरुलाई विहान ३ः०० बजे पछी मात्र छोडिने व्यहोरा अनुरोध छ । रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ,’ सूचनामा भनिएको छ ।
त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछन् । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ ।
यो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन ।