काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने विषय भने टुङ्गो लागेको छैन ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।
सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले वैशाख २८ गते समितिबाट राजीनामा दिएका थिए ।
पौडेलले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । गभर्नर सिफारिस समितिको बैठक बसेर आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने छ ।
तर, पौडेललाई सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित अदालतमा मुद्दा दायर भएको छ । यसअघि अदालतले सो मुद्दालाई दरपीठ गरेको थियो । सो मुद्दा अदालतले भोलि पेशीमा राखेको छ ।