काठमाडौं, १४ जेठ । यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
विभागले मंगलबार साँझ मनसुन अनुगमन बुलेटिन जारी गर्दै मनसुन यसै साता पवेश गर्ने जनाएको हो ।
मंगलबार भारतको आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशको पूर्व भू–भागहरूसम्म मनसुनको आगमन भएको विभागले जनाएको छ । ’नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ । भू–उपग्रहबाट प्राप्त बादलका तस्वीर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्याङ्कको विश्लेषणको आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्य सम्ममा नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको छ,’ बुलेटिनमा भनिएको छ ।
मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै लगिने बताएको छ ।
मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मनसुनको पूर्वानुमान र पूर्वतयारीबारे जल तथा मौसम विज्ञान विभागमा पुगेर जानकारी लिएका छन् ।