काठमाडौं, २३ जेठ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणको साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गा.विस वडा नं. १–५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ९३ हजार २५० कित्ता शेयर समेत यही चरणमा निष्काशन गरिनेछ ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाहरूको लागि आवेदन छिटोमा असार १३ गते र ढिलोमा असार २९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार १३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीयहरू सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, महिला भवन तथा जनस्वास्थ्य भवन र वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।