काठमाडौं, २५ जेठ । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द गरिने भएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आज सूचना जारी गर्दै जेठ २६ गतेदेखि ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो ।
आयोजनाले जारी गरेको सूचनाअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ ।
सो अवधिमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिने जनाइएको छ । रोकिएका सबै सवारी साधनहरुलाई ३ बजेपछिमात्रै छोडिने सूचनामा उल्लेख छ । रोकिएको समयमा सवारीसाधन चलाउँदा आफ्नो लेनअनुसाशन पालना गर्न र लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नसमेत अनुरोध गरेको छ ।
यस अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न आग्रह गरिएको छ । यद्यपि दमकल एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।