काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष २०८१८२ को वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ, जुन गत आवको सोही महिनाको तुलनामा १ दशमलव ६३ प्रतिशत बिन्दुले कम हो । गत आवको वैशाखमा यस्तो मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीवि ४१ प्रतिशत र ३ दशमलव शून्य ९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ र रेष्टुरेण्ट तथा आवास सेवाहरुको ३.१६ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेशको २.८१, बागमतीको २.४० प्रतिशत, गण्डकीको २.२३ प्रतिशत, लुम्बिनीको २.१५ प्रतिशत, कर्णालीको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।