काठमाडौं, २७ जेठ । शोधनान्तर स्थिति करिब साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा चालु खाता साढे ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ ।
गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।
यसैगरी १० महिनामा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । गत आवको वैशाखसम्ममा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.७ अर्ब ५ करोड रहेको थियो ।