काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष (आव)को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तमा ३ खर्ब ६८ अर्ब ६८ करोड अर्थात् ७ दशमलव ३ प्रतिशले बढेको हो ।
अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड अर्थात् ४ दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८ दशमलव ४ प्रतिशतले बढेको छ ।
गत वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव ७ प्रतिशत र ३६ दशमलव ३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७ दशमलव, विकास बैंकहरुको ४ दशमलव १ र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६ दशमलव ५ प्रतिशतले बढेको छ । २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १४ दशमलव ६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५ दशमलव १ प्रतिशत रहेको छ । २०८१ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२ दशमलव १ प्रतिशत र ६८ दशमलव ५ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९, निर्माण क्षेत्रतर्फको कर्जा १२ दशमलव ३, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४ दशमलव ९, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११ दशमलव ९, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७ दशमलव ९ र उपभोग्य क्षेत्रतर्फको कर्जा ८ दशमलव ८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५ दशमलव १, मार्जिन प्रकृतिको कर्जा ३९ दशमलव ३, ट्रष्ट रिसिट (आयात) कर्जा ५८ दशमलव १, हायर पर्चेज कर्जा ४ दशमलव १, नगद प्रवाह कर्जा ३ दशमलव ४ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५ दशमलव २ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२ दशमलव ९ प्रतिशतले घटेको छ ।