काठमाडौं, २९ जेठ । अमेरिकी प्रविधि उद्यमी इलन मस्कले सोमबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए । दुई जना नजिकको स्रोतका अनुसार मस्कले ट्रम्पसँग संक्षिप्त संवाद गरेपछि बुधबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै आफूले ट्रम्पविरुद्ध गरेका पोस्टहरूको लागि पछुतो भएको बताएका हुन् ।
यसअघि शुक्रबार मस्क र उपराष्ट्रपति जेडी भान्स तथा श्वेत भवनकी प्रमुख सुसि वाइल्सबीच पनि फोनवार्ता भएको थियो । त्यही कुराकानीमा तीनै जनाबीच मस्क र ट्रम्पबीचको चर्किएको सम्बन्धबारे छलफल भएको सीएनएनले जनाएको छ ।
यस संवादपछि मस्कले ट्रम्पविरुद्ध गरेका कडा आलोचनात्मक पोस्टहरू हटाएका छन् । हटाइएका पोस्टमध्ये एउटा पोस्टमा मस्कले ट्रम्पलाई जेफ्री एप्स्टिनसँग जोडेर कटाक्ष गरेका थिए भने अर्कोमा ट्रम्पलाई महाभियोग लगाउनुपर्ने प्रस्तावमा सहमति जनाएका थिए ।
‘मैले ट्रम्पबारे अघिल्लो साता गरेका केही पोस्टहरू हदभन्दा बढी थिए, त्यसको मलाई पछुतो लागेको छ,’ बुधबार बिहान मस्कले लेखेका छन् ।
सोमबारको फोनवार्ता सबैभन्दा पहिले न्यु योर्क टाइम्सले खुलासा गरेको हो भने शुक्रबारको फोन कुराकानीबारे वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको छ । सीएनएनले मस्कका प्रवक्तासँग पनि सम्पर्क गरेको जनाएको छ ।
यसबीच रिपब्लिकन सांसदहरू एण्ड ट्रम्प समर्थक नेताहरूले मस्कलाई फेरि ट्रम्पसँग मिल्न र ट्रम्पको आन्तरिक नीति विधेयक ‘बिग ब्यूटिफुल बिल’मा समर्थन जनाउन दबाब दिइरहेका छन् ।
ट्रम्पका नजिकका सहयोगीहरूले विगतमा मस्कसँग व्यक्तिगत सम्बन्ध बनाइसकेकाले अहिले ती सम्बन्ध प्रयोग गर्दै मस्कलाई फकाउने प्रयास भइरहेको छ । मस्कसँग म्यासेज र फोनमार्फत निरन्तर संवाद भइरहेको स्रोतहरूले बताएको सीएनएनले लेखेको छ ।
यद्यपि मस्कले केही सकारात्मक संकेत देखाएका छन् । उनले ट्रम्पको विधेयकमा खर्च कटौतीको अभाव भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । ‘म मस्क एण्ड राष्ट्रपति ट्रम्पबीच सुलह गराउने प्रयासमा छु, अहिले अवस्था केही ठण्डा हुँदै गएको छ, मलाई लाग्छ दुवै जना फेरि मिल्ने सम्भावना छ,’ सोमबार प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले भने ।
फोन कुराकानीअघि नै मस्क केही कदम पछि हटिसकेको संकेत देखिएको थियो । एक स्रोतले भने, ‘मस्कको सुरुवातमै केही पछुतो देखिन्थ्यो र ट्रम्प पनि अघिल्लो दिनको जस्तो क्रोधित देखिँदैनथे ।’
ट्रम्पको आन्तरिक वृत्तमा मस्कप्रति चित्त नबुझेको भए पनि अहिले आएर ट्रम्पले त्यो आलोचनालाई गम्भीर रूपमा नलिएको देखिन्छ ।
उपराष्ट्रपति भान्सले बिहीबार रेकर्ड गरिएको पोडकास्टमा भने, ‘मस्कले जुन तरिकाले ट्रम्पलाई आक्रमण गरे, त्यो ठूलो गल्ती थियो, तर मलाई लाग्छ, उनी फेरि फर्किनेछन् ।’
गएको हप्ताको विवादपछि मस्क शनिबारतिर फेरि ट्रम्प नजिकिँदै गरेको देखिएको छ । लस एञ्जलसमा आप्रवासी नियन्त्रणसम्बन्धी आक्रोश एण्ड विरोधको बेला मस्कले ट्रम्प प्रशासनको कडा नीति समर्थन गरे । उनले उपराष्ट्रपति भान्सको ‘राष्ट्रपतिले दंगा एण्ड हिंसा सहने छैनन्’ भन्ने पोस्टमा अमेरिकी झण्डा टाँस्दै समर्थन जनाए ।
मस्क विगतदेखि नै अवैध आप्रवासन रोक्न, कडाई गर्न एण्ड निर्वासनका पक्षमा छन्, जुन ट्रम्प प्रशासनको नीतिसँग मेल खान्छ ।
त्यसपछि मस्कले ट्रम्पको ‘ट्रुथ सोसल’ पोस्टको स्क्रिनसट पनि सेयर गरे, जसमा ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम एण्ड लस एञ्जलसकी मेयर करेन बासलाई ‘जनतासँग माफी माग्न’ भनेका थिए ।
यसै साता मस्कले फेरि श्वेत भवनका उपप्रमुख स्टेफन मिलर एण्ड कन्भरभेटिभ पोडकास्टर चार्ली किर्कलाई फलो गर्न थालेका छन्, जसलाई उनले विवादका बेला अनफलो गरेका थिए ।