काठमाडौं, २० असार । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले अंकित मूल्य १ हजारका दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ दशमलव २५ प्रतिशत ब्याजदर पाउने छन् ।
यो ऋणपत्र ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार ३२ गते हुनेछ भने ढिलोमा साउन ११ गते हुनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।