काठमाडौं, २२ असार । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कुल शेयरमध्ये ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका–६ र ७ का अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ । बाँकी ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्रअन्तर्गतका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ ।
यसैगरी सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिनेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले साउन ११ गते सम्म आवेदन दिसक्नुपर्र्ने छ भने सो अवधिमा आवेदन नपरे साउन २६ गते सम्म लम्ब्याइने छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।