काठमाडौं, ४ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ मा आज (आइतबार) पहिलोपटक नेपाल राष्ट्र बैंकले तरलता खिच्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले आज ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ १५ गते हुनेछ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।