काठमाडौं, ५ साउन । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर बोलकबोल प्रणालीमार्फत बिक्रीमा ल्याउने भएको छ । कम्पनीले गत असार १ देखि २४ गतेशम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा पर्याप्त आवेदन नपरेपछि बाँकी शेयर अब बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो ।
कम्पनीका अनुसार यो शेयर खरिदका लागि इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरूले साउन १३ गतेदेखि २० गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ । बोलकबोलमा भाग लिन चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण बाँकी कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
बोलपत्र पेस गर्न लगानीकर्ताले मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने स्थानहरूमा ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बागलुङ, बुटवल, घोराही, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, बिर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ र पोखरा समावेश छन् ।