काठमाडौं, ६ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ हजार बिन्दु नजिक पुगेको छ । आज नेप्से परिसूचक ८१ दशमलव ७७ अङ्कले बढेर दुई हजार ९७४ दशमलव ५ बिन्दुमा कायम भएको हो ।
आज ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २३६ धितोपत्रको शेयर मूल्य बढ्दा १४ को घटेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार सबै समूहको उपसूचक बढेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक ४ दशमलव ५६ प्रतिशतले बढेको छ ।
यस्तै जीवन बीमा ४ दशमलव ४२, माइक्रोफाइनान्स ४ दशमलव १, होटेल तथा पर्यटन ३ दशमलव ४९, लगानी ३ दशमलव ३९, अन्य ३ दशमलव ३३, निर्जीवन बीमा २ दशमलव ६४, विकास बैंक २ दशमलव ३४, फाइनान्स २ दशमलव ११, बैंकिङ २ दशमलव १, हाइड्रोपावर १ दशमलव ८८, व्यापार शून्य दशमलव ९८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ५८ प्रतिशतले बढेको छ ।
आज तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट रहेका छन् । यस्तै उन्नति सहकार्य लघुवित्त ९ दशमलव ९ र बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कपनको शेयर मूल्य ९ दशमलव ७६ प्रतिशतले बढेको छ ।
आज एनआईबीएल ग्रोथ फण्ड ३ दशमलव ०१, बोट्लर्स नेपाल बालाजु २ दशमलव ४६, ग्रिन डेभलपमेन्ट बैंक २ दशमलव १९ पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ०३ प्रतिशतले ह्रास आएको छ ।