काठमाडौं, ५ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन गर्ने भएको छ । नेप्सेले आज सूचना जारी गर्दै मंगलबारबाट अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्ने जानकारी दिएको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्नका लागि शनिबार नेपाल धितोपत्र बोर्डले नेप्सेमा पत्र पठाएको थियो । सोही आधारमा यस्तो गणना विधि स्थगित गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेमा २ः४५ देखि ३ बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा अन्तिम सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रवक्ता पराजुलीले सो विधि आज परीक्षण गरिने र पर्सिदेखि लागू हुने जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक बिदा परेकाले बजार बन्द रहनेछ ।