काठमाडौं, २८ मंसिर । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी गरिएको आईपीओको प्रि–अलटमेन्ट सम्पन्न भइसकेपछि कम्पनी अब सर्वसाधारणमा शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ५७ हजार ७९८ कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित राखी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । शेयरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ्ग प्रक्रियामार्फत तय गरिएको अन्तिम प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ अनुसार संस्थागत लगानीकर्ताबाट बोलकबोल प्रणालीमार्फत ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो । सो मूल्यमा १० प्रतिशत छुट प्रदान गरिँदा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरदेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म थपिने कम्पनीले जनाएको छ ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूमार्फत साथै सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा माध्यमबाट आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ्गतर्फ केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस’ प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीले समयमै आफ्नो वित्तीय दायित्व सुरक्षित रूपमा पूरा गर्न सक्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ ।
