काठमाडौं, २८ मंसिर । जेन–जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदबाट हटाउनुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार बिहान अर्थ मन्त्रालय पुगेर संगठनका संयोजक जनक परियारले औपचारिक रूपमा ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनको मर्म र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै तत्कालीन सरकारले स्वार्थ समूहको प्रभावमा डा. पौडेललाई गभर्नर नियुक्त गरेको आरोप लगाइएको छ । सरकारद्वारा गठित सिफारिस समितिले अधिकारको दुरुपयोग गर्दै ऐनविपरीत पौडेललाई सिफारिस गरेको दाबीसमेत गरिएको छ ।
संयोजक परियारका अनुसार राष्ट्र बैंक ऐन, २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ ले गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन वा वाणिज्य कानुन क्षेत्रमा दक्ष र ख्यातिप्राप्त व्यक्तिहरू वा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, उक्त कानुनी प्रावधानको उल्लंघन गर्दै डा. पौडेललाई सिफारिस गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

