काठमाडौं, २९ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८२८३ को कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.४९ प्रतिशत बिन्दुले कम हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो ।
चालू आवको कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२÷८३ को चार महिनाको औसत मुदास्फीति १.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४.४३ प्रतिशत, मरमसलाको ७.८५ र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.१७ प्रतिशत, शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२६ प्रतिशतले बढेको छ ।
काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत, तराईको १.२४ प्रतिशत, पहाडको ०.८८ प्रतिशत र हिमालको १.०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
