काठमाडौं, २९ मंसिर । चालू आर्थिक वर्ष (आव)को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आव २०८२/८३ को चार महिनासम्ममा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो ।
चालू आवको कात्तिक महिनामा भने असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो महिना असोजको तुलनामा ३३ दशमलव ६२ प्रतिशतले कम हो । सोही महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो ।
चालू आवको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।
त्यस्तै, चालू आवको कात्तिकसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५६९ अर्ब २९ करोड रहेको थियो ।
समीक्षा अवधिमा १ लाख ४५ हजार ९७३ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, यसका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा १ लाख ४७ हजार ४७८ जनाले अन्तिम श्रम स्वीकृति र ९४ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
