काठमाडौं, २ पुस । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३ हजार ३०३ वटा बीमा दाबी परेको छ, जसमध्ये ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब २ करोड रुपैयाँ रहेकोमा हालसम्म ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम ३ अर्ब ४७ करोडमध्ये करिव १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको ५५ करोड ४७ लाख रुपैयाँ दाबी रकममध्ये ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड रुपैयाँ बराबर अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम १६ अर्ब ६२ करोड रुपैयाँ बराबर रहेको प्राधिकरणले जनाएको छ ।
