काठमाडौं, १४ मंसिर । गृह मन्त्रालयले सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका प्लेटफर्ममा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरू नदिन अनुरोध गरेको हो ।
‘पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पु–याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ ।’
साथै मन्त्रालयले मुलुकमा बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका आधारभूत सिद्धान्तहरूलाई सम्मान गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकता दिइएको पनि स्मरण गराएको छ ।