काठमाडौं, १६ मंसिर । साढे चार महिनामा सरकारकोे पुँजीगत खर्च १० दशमलव ६९ प्रतिशत मात्र भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मंसिर १५ गतेसम्ममा पुँजीगत खर्च ३७ अर्ब ६८ करोड रुपैयाँ भएको हो, जुन गत आवको तुलनामा ० दशमलव १६ प्रतिशतले बढी हो । गत आवको साढे चार महिनामा यस्तो खर्च वार्षिक बजेट विनियोजनको १० दशमलव ५३ प्रतिशत अर्थात् ३१ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको थियो ।
२४.९९ प्रतिशत राजस्व
गत आवको तुलनामा चालू आवमा सरकारको राजस्व सङ्कलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत आवको साढे चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा राजस्व संकलन ३ दशमलव २१ प्रतिशत विन्दुले बढेको हो ।
तथ्याङ्क अनुसार चालू आवको मंसिर १५ गतेसम्ममा रू. ३ खर्ब ५४ अर्ब ६५ करोड अर्थात् २४ दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा रू. ३ खर्ब ९ अर्ब ८५ करोड अर्थात् २१ दशमलव ७८ प्रतिशत उठाएको थियो
सरकारले यस वर्ष रू. १४ खर्ब १९ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।