काठमाडौं, १६ मंसिर । यस वर्षको ११ महिनामा साढे १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन् ।
पर्यटन बोर्डका अनुसार सन् २०२४ नोभेम्बरसम्ममा विभिन्न देशबाट १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा ४ दशमलव ०४ प्रतिशतले बढी हो । सन् २०२३ को ११ महिनामा १० लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।
यस वर्ष १० लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताएका छन् ।
पर्यटन बोर्डका अनुसार २०२४ को नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६३० पर्यटक नेपाल आएका थिए ।
भारतबाट आउने पर्यटक १८.५ घटे
पछिल्लो एक वर्ष अवधिमा भारतबाट आउने पर्यटकको सङ्ख्या घटेको छ । बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन्, जुन गत वर्षको सोही महिनाको तुलनामा १८ दशमलव ५ प्रतिशतले कम हो । २०२३ को नोभेम्बरमा भारतबाट २४ हजार ४ सय ४३ पर्यटक नेपाल घुम्न आएका थिए । गतवर्ष जस्तै यस वर्षको नोभम्बरमा पनि सबैभन्दा बढी पर्यटक भारतीय नै छन् ।
भारतसँगै अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या पनि गत वर्षको नोभेम्बरको तुलनामा ९.६ प्रतिशतले घटेको छ । सन् २०२३ को नोभेम्बरमा ११ हजार ४६१ पर्यटक नेपाल आएकोमा यस वर्षको नोभेम्बरमा अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन् । अमेरिका सबैभन्दा बढी पर्यटक भित्रिने देशमा दोस्रो स्थानमा छ ।
त्यस्तै नोभेम्बरमा चीनबाट ९ हजार ४ सय ५८ पर्यटक नेपाल आएका छन् । बेलायतबाट ६ हजार ६११, बङ्गलादेशबाट ५ हजार १४८, अस्ट्रेलियाबाट ४ हजार ८२९, थाइल्यान्डबाट २ हजार ४६२, श्रिलङ्काबाट ४ हजार ३९५, जर्मनीबाट ३ हजार ९२६ र फ्रान्सबाट ३ हजार ३ हजार ८४१ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।