काठमाडौं, १८ मंसिर । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
दुई देशबीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गर्नेछन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार (हिजो) बेइजिङ पुगेको हो ।