रुमन श्रेष्ठ,
काठमाडौं, १९ मंसिर । कुनै समय थियो, जतिबेला पैसाको कारोबार व्यक्ति व्यक्तिबीच प्रत्यक्ष भेटेर गरिन्थ्यो । अथवा अर्को व्यक्तिमार्फत लेनदेन हुन्थ्यो । नेपालमा करिब ९ दशक अघिसम्म पैसाको कारोबार यसरी चल्थ्यो । भौतिक रूपमा व्यक्तिको उपस्थिति हुनै पर्थ्यो ।
पहिलोपटक वि.सं. १९९४ साल कार्तिक ३० गते नेपाल बैंक लिमिटेडको स्थापना भयो । तत्कालीन समयमा सिक्काको प्रयोग हुन्थ्यो । पछि वि.सं. २००४ बाट नेपालमा कागजी नोटको सुरुवात भयो । अब पैसा कारोबार गर्न सहज हुन थाल्यो । एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन व्यक्ति नै जानुपर्ने अवस्था अन्त्य भयो । बैंकिङ कारोबार केही व्यवस्थित पनि भयो । यसले पैसा लेनदेनमा सहज मात्र बनाएन, बैंकबाट कर्जा लिन औपचारिक बाटो पनि खुल्यो । विस्तारै बैंकिङ ग्राहक बढ्न थाले, बैंकिङ कारोबारमा अभ्यस्त हुँदै गए ।
नेपालमा वि.सं. २०५२ मा हिमालय बैंकले पहिलोपटक अटोमेटेड टेलर मेसिन (एटीएम)को सुरुवात गर्यो । त्यसपछि बैंकबाट नगद झिक्न थप सहिजो भयो । त्यसअघि पैसा झिक्न लाइन नै लाग्नुपर्थ्यो, चेक साटेर पैसा लिनुपथ्यो । एटीएम सञ्चालनमा आएपछि त्यो झन्झट केही कम भयो । किनकि आफूले चाहेको बेला एटीएम भएका स्थानमा कसैको सहायताविना नै पैसा निकाल्न सकिन्थ्यो । एटीएमले नगद निकासी छिटोछरितो पनि भयो । यससँगै नेपालको बैंकिङ क्षेत्र आधुनिकीकरणको चरणमा प्रवेश गर्यो ।
यसरी चलेकोे बैंकिङ प्रणालीमा थप अर्को आयाम थपियो, जुन नेपालमा इन्टरनेटको विस्तारले सम्भव भएको थियो, त्यो हो– इन्टरनेट बैंकिङ । इन्टरनेट बैंकिङको सुविधा आएपछि बैंकिङ कारोबार थप सहज भयो । यसले बैंकमा व्यक्तिको उपस्थितिबिना घरमै बसेर पनि बैंकका सीमित सेवा लिन सकिने भयो । बैंक खाता खोल्ने, पैसा पठाउने, स्टेटमेन्ट हेर्ने जस्ता विभिन्न सेवा इन्टरनेट बैंकिङबाट सम्भव भयो । यद्यपि यो सबैको पहुँचमा भने थिएन । किनकि त्यो शहर, बजार केन्द्रित थियो, सबै ठाउँमा उपलब्ध थिएन, महँगो पनि थियो । वित्तीय ज्ञान, साक्षरता कम हुनाले इन्टरनेट पुगेका ठाउँमा पनि प्रभावकारी भएन, तर पनि यसको प्रयोगकर्ता भने बढ्दै गयो ।
नेपालको आधुनिक बैंकिङमा इन्टरनेट बैंकिङको ठूलो योगदान रहेको छ, जुन लामो समयसम्म डिजिटल बैंकिङको महत्वपूर्ण प्रडक्टको रूपमा स्थापित भयो, हुँदै आएको पनि छ । तर जब इन्टरनेट सेवाप्रदायक, नेपाल टेलिकम, एनसेल जस्ता टेलिकम्युनिकेसन कम्पनी आउन थाले, तब डेटाको पहुँच विस्तार भयो, पहुँच र प्रयोग बढ्दै गयो । सोही समयमा नेपालमा मोबाइल तथा स्मार्टफोनको प्रयोग बढे आधुनिक बैंकिङको विश्वव्यापी अभ्यास, सेवाग्राहीको माग तथा आवश्यकता र उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोगलाई समेत ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याए, जसलाई नेपालको आधुनिक बैंकिङ इतिहासमै हालसम्मकै ठूलो उपलब्धि मान्न सकिन्छ ।
मोबाइल बैंकिङ बैंकको सेवा प्रवाहमा कोशेढुंगा सावित भयो । यसैलाई आधार बनाएर बैंक, वित्तले आधुनिक एवं नवप्रवर्तनकारी सेवा थप्दै लगेका छन् । आज मानिस जहाँ बसेर पनि एउटा मोबाइल चलाएकै भरमा बैकिङ सेवा लिन सक्छ ।
नेपालमा पहिलो पटक तत्कालीन लक्ष्मी बैंक (हाल लक्ष्मी सनराइज)ले मोबाइल बैंकिङ सेवा शुरू गरेको थियो । त्यतिबेला यसमा भुक्तानीको सेवा भने थिएन ।
आज हरेक बैंक, वित्त कम्पनीले आफ्नो मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । इन्टरनेट पुगेको जुनसुकै ठाउँबाट यस्तो सेवा पाउन सकिन्छ । कारोबार सम्बन्धी सबै किसिमका बैंकिङ सेवा सुविधा मोबाइलमा पनि हुने हुँदा ग्राहकलाई बैंकमा जानुपर्ने झन्झट छैन । पहिले जस्तो न बैंकमा लामो लाइन बसिरहनुपर्छ, न एटीएम भएका स्थान खोज्न । एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन होस् वा कसैलाई सापट लिन–दिन मोबाइल बैंकिङले सजिलो बनाएको छ ।
अहिले बैंकबाट कर्जा समेत मोबाइल बैंकिङबाटै लिन सकिन्छ । अनलाइनबाटै सामान किन्न सकिन्छ । बिजुली, खानेपानी, सरकारी सेवा, इन्टरनेट वा अन्य जुनसुकै बिल तिर्न सकिन्छ । यसले परम्परागत हुँदै आएको बैंकिङ कारोबार प्रणालीको स्वरूप नै बदलिदिएको छ । मोबाइल बैंकिङप्रति आकर्षक र प्रयोग वर्षेनि ठूलो संख्यामा बढ्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मोबाइल बैंकिङको शुरुआत भएर वि.सं. २०७३ देखि यसको तथ्याङ्क राख्न थाल्यो । त्यसयता ३२ दशमलव ५९ प्रतिशत प्रयोगकर्ता बढेका छन् । २०७३ सालमा मोबाइल बैंकिङ प्रयोगकर्ता १९ लाख २४ हजार रहेका थिए । २०८१ को असोजसम्ममा यो संख्या साढे दुई करोड नाघेको छ । तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को असोज महिनासम्ममा २ करोड ५५ लाख २४ हजार रहेका छन् ।
९ वर्षमा मोबाइल प्रयोगकर्ता र कारोबार रकमको अवस्था
स्रोत : नेपाल राष्ट्र बैंक
मोबाइल बैंकिङमा नगद कारोबार गर्न सेवाको हिसाबले सुरक्षित भए तापनि प्रयोगकर्ताले प्रयोग गर्ने तरिका र वित्तीय साक्षरतामा कमजोरीले भने जोखिम हुन सक्छ । खातामा चिठ्ठा परेको भन्दे पैसा माग्ने, विभिन्न प्रलोभन देखाउने जस्ता विभिन्न माध्यमबाट ठगी बढ्दै भएको छ । यो मोबाइल बैंकिङ कारोबारका लागि ठूलो चुनौती बनेको छ । नेपाल राष्ट्र बैंकद्वारा हालै प्रकाशित एक अध्ययनले इन्टरनेट, अनलाइन माध्यमबाट बैंकिङ अपराध बढेको देखाएको छ, जसमा युवा पुस्ता बढी संलग्न भएको पाइएको छ । यसबारे सम्बन्धित नियामक निकाय, सरकारले विशेष किसिमको कानून नै बनाएर नियमनको आवश्यकता देखिन्छ । साथै सेवाग्राहीले पनि यसमार्फत हुन सक्ने ठगीनबाट जोगिन सचेत हुन जरुरी छ । समयमै वित्तीय साक्षरता भएर अरूलाई पनि यसबाट जोगिन सल्लाह दिन सकिन्छ ।
के हो मोबाइल बैंकिङ ?
मोबाइल बैंकिङ भनेको एउटा डिजिटल सेवा हो, जसले मोबाइलबाट बैंकिङ सेवा प्रदान गर्छ । यसको प्रयोगद्वारा ग्राहकले कुनै पनि स्थानबाट आफ्नो बैंक खाता चेक गर्न, पैसा पठाउन, बिल तिर्न, विद्युत्, पानी, इन्टरनेटको पैसा तिर्न, कर्जाको आवेदन दिन र अन्य बैंकिङ सेवा अनलाइनबाटै लिन सक्नेछन् । नेपालमा अहिले मोबाइल बैंकिङ सेवा ग्रामीण तथा सहरी क्षेत्र जहाँबाट पनि प्रयोग गर्न सकिन्छ ।