काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा भियतनामसँगको वैदेशिक व्यापारमा नेपाललाई दुई अर्ब व्यापार घाटा भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा नेपालले भियतनामसँग रू. दुई अर्ब ४७ लाखको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा भियतनामबाट रू. २ अर्ब ३ करोड ३० लाख मूल्य बराबरको वस्तु आयात हुँदा रू. २ करोड ८३ लाखको मात्रै निर्यात भएको छ । नेपालले भियतनाममा गरेको निर्यात त्यहाँबाट भएको आयातको १ दशमलव ३९ प्रतिशत मात्र हो ।
गतवर्षको यसै अवधिमा भियतनामबाट रू. २ खर्ब ४ करोड ८४ लाखको वस्तु आयात हुँदा रू. ४ करोड ३८ लाखको निर्यात भएको थियो ।
नेपालमा चालू आवको कात्तिकसम्ममा भियतनामबाट सबैभन्दा धेरै भित्रने प्रमुख वस्तुमा मोबाइल फोन तथा चार्जर रहेको छ । सो अवधिमा मोबाइल तथा चार्जर मात्रै रू. १७ करोड ४९ लाख मूल्यको आयात भएको छ । यसपछि धेरै आयात भएका वस्तुहरूमा वासिङ मेशिन, चोकर तथा पिठो, प्रिन्टरलगायत मेशिन, काजुलगायत रहेका छन् ।
भियतनामबाट आयात भएका प्रमुख पाँच वस्तु
स्रोत : भन्सार विभाग
सोही अवधिमा नेपालबाट निर्यात धेरै हुनेमा पशुजन्य खाद्यवस्तु रहेको छ । यस्तो वस्तु रू. ८० लाख ३२ हजारको निर्यात भएको छ । दोस्रो धेरै निर्यात हुनेमा यार्सागुम्बा रहेको छ । यार्सागुम्बा रू. ६४ लाख ३९ हजारको निर्यात भएको छ । सोही अवधिमा तेस्रो, चौथो र पाँचौं धेरै निर्यात हुनेमा क्रमशः मूर्ति, च्याउ, कृत्रिम मानव अंगलगायत रहेका छन् ।
तथ्याङ्क अनुसार चालू आवको कात्तिकसम्ममा भियतनामबाट ३३९ प्रकारका वस्तु आयात भएको छ भने नेपालबाट १९ प्रकारका वस्तु मात्रै निर्यात भएको छ ।
नेपालबाट निर्यात भएका प्रमुख पाँच वस्तु
स्रोत : भन्सार विभाग