कुल नारायण श्रेष्ठ,
काठमाडौं, ३ पुस । सहरी विकासमा सार्वजनिक स्थानहरूको महत्व विशिष्ट हुन्छ । पोखरी, पार्क, उद्यान, हरियाली क्षेत्रलगायतको ठूलो भूमिका रहन्छ । जैविक विविधता, प्राकृतिक सुन्दरता एवं स्थानीय उपभोक्ताका लागि पनि यस्ता क्षेत्रहरूले योगदान महत्त्वपूर्ण हुन्छ ।
कुनै पनि सहर कत्तिको व्यवस्थित, सुरक्षित छ भनेर त्यहाँको भौतिक पूर्वाधारले मात्र अर्थ राख्दैन, त्यहाँका मानव जनजीवन, जनस्वास्थ्य, जैविक विविधता, पार्क, पोखरी, उद्यान आदिको पनि आवश्यकता पर्छ । तर विडम्बना ठूलो जनसंख्या भए तापनि काठमाडौंमा सार्वजनिक महत्व बोकेका स्थानहरू कमै छन् । भएका सार्वजनिक ठाउँहरू पनि अतिक्रमण परेका छन् ।
काठमाडौंमा रहेका सार्वजनिक प्रयोजनका थोरै ठाउँहरूमध्ये एक कमलपोखरी पनि हो । काठमाडौं महानगरपालिका–१ मा रहेको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो पोखरीले पछिल्लो समय रूप फेरेको छ । केही वर्षयता कमलपोखरीको पुनर्निर्माण र सौन्र्दयकरण भइरहेको छ । यसमा शारीरिक व्यायाम स्थल लगायत आधुनिक संरचना बनाइँदै छ । वरिपरि हिँड्नका लागि पैदलमार्ग, बस्न मिल्ने स्थान बनाइएका छन् ।
काठमाडौं महनगरपालिकाको गुरुयोजना अनुसार पोखरी पुनर्निर्माण गर्न २०७६ सालमा तत्कालीन मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए । पुनर्निर्माण २ चरणमा गर्ने योजना थियो । पहिलो चरणमा पोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ, जसको उद्घाटन २०७८ सालमा मेयर शाक्यले गरेका थिए । दोस्रो चरणमा पोखरी वरपरको क्षेत्रलाई पार्कका रूपमा विकास गर्ने योजना रहेको छ । यो अहिले भइरहेको छ । पोखरीको चारैतर्फ वाल लगाउने तथा अन्य कामहरू भइरहेको काठमाडौं महानगर–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाल उद्यान, शारीरिक व्यायाम स्थललगायत निर्माण गरिँदै छ । यसअघि प्रहरी बिट रहेकाले उक्त जग्गा लिएर पुनर्निर्माण गर्नुपर्दा समयमै काम सम्पन्न नभएको वडाध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘हिजो प्रहरीले प्रयोग गरेको जग्गा हामीले पछि प्राप्त ग¥यौं, प्रहरीसँग जग्गा लिन समय लागेकाले निर्माणमा ढिला हुन पुग्यो ।’
दोस्रो चरणको पुनर्निर्माणका लागि महानगरले रू. ३ करोड ६ लाख (भ्याट बाहेक) बजेट विनियोजन गरेको थियो । २०८१ भदौ १९ गतेदेखि शुरू भएको यो योजना २०८२ साउन १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
पोखरी संरक्षणमा स्थानीय समुदाय र नेताहरूको सक्रियता पनि देखिएको थियो । सांसद गगन थापाको नेतृत्वमा पोखरी संरक्षण समिति गठन गरिएको थियो, जसले पोखरीको सरसफाइ, हरियाली विकास र सुरक्षा व्यवस्थापनमा योगदान पुग्यो ।
पुनर्निर्माणको क्रममा केही विवादहरू पनि उत्पन्न भएका थिए । कंक्रिट संरचनाको प्रयोग र परम्परागत शैलीको अभावको कारण केही अभियन्ताहरूले विरोध जनाएका थिए । उनीहरूले पोखरीलाई प्राकृतिक र सांस्कृतिक महत्वको रूपमा संरक्षण गर्नुपर्ने माग गरेका थिए ।
अहिले कमलपोखरी पुनर्निर्माणपछि स्थानीय बासिन्दा र पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास हुँदै छ । पोखरी वरिपरि हरियाली क्षेत्र, पैदल मार्ग र अन्य सुविधाले यसलाई काठमाडौंको व्यस्त जीवनशैलीबाट विश्राम लिन चाहनेका लागि उपयुक्त स्थान बनाएको छ । नयाँ आगन्तुक दिनानुदिन बढ्दो छ । फुर्सदको समयमा आएर घाम ताप्दै बस्न रमाइलो हुने यहाँ आउनेहरू बताउँछन् । ‘यहाँ आउँदा आनन्द लाग्छ, यो बजार पनि होइन, घाम ताप्दै बस्न रमाइलो लाग्छ, यहाँको वातावरण रमणीय छ,’ यहाँ आएका प्रशान्त भुसालले भने ।
कमलपोखरी साथीभाईसँग भेट गर्न, चिया खादै गफ गर्नेहरूका लागि पनि उपयुक्त ठाउँ बनेको छ । फुर्सदको समयमा आइरहने बासु धिताल भन्छन्, ‘साथीसँग भेटघाट गर्न, चिया खादै गफ गर्न रमाइलो हुन्छ, त्यसैले पनि म आउने गर्छु ।’ सहरमा हुने भिडभाडबाट यहाँ आउँदा ‘फ्रेस’ भइने र यहाँको शान्त वातावरणमा बसेर केही काम पनि गर्न सकिने उनको अनुभव छ ।
त्यस्तै मानव भट्टराई प्राकृतिक अनुभव लिन यहाँ आउने गर्छन् । ‘सहरमा जताततै भिडभाड छ, त्यसबाट अलि टाढा हुन फुर्सदको समयमा यहाँ आउछु, यहाँ छुट्टै किसिमको वातावरण छ, प्राकृतिक अनुभव हुन्छ,’ भट्टराईले भने ।
सहरी धौडधुप, कामको व्यस्तताबाट थकित भएर आउँदा आफूलाई शान्त, खुसीको महशुस हुने उनीहरू बताउँछन् । सीमित मात्रामा भएको पार्क, खुला क्षेत्र, सार्वजनिक महत्वका स्थानहरूलाई थप व्यवस्थित बनाउनुपर्ने आगन्तुकको भनाइ छ । ‘मानिसहरू यस्तो पार्कमा प्राकृतिक अनुभव लिन आउने हुँदा महानगरले प्राकृतिक सुन्दरतामा ध्यान दिने, सरसफाइ गर्ने, वरपर हरियाली बनाएमा राम्रो हुन्छ,’ भट्टराईले भने ।
पूर्ण रूपमा पोखरीको पुनर्निर्माणपछि पनि पर्यटक तथा सर्वसाधारणले निःशुल्क रूपमै पार्क प्रवेश गर्न पाउने वडाध्यक्ष श्रेष्ठले बताए । ‘पार्क प्रवेशमा केही फरक हुँदैन, बरु अन्य सुविधा थप हुन्छ,’ उनले भने ।
तस्बिरहरू