काठमाडौं, २६ फागुन । पछिल्लो समय मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य रुपमा बढिरहेको छ । पछिल्लो तीन वर्षमै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ६५ लाखले बढेको छ ।
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को माघसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६५ लाख नाघिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा २ करोड ६५ लाख ७३ हजार ७२ जनाले मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन्, जुन आव २०७९/८० को १० महिनासम्मको तुलनामा ३२ दशमलव ६२ प्रतिशतले बढी हो । सो वर्षको माघसम्ममा २ करोड ३६ हजार ५२४ माबाइल बैंकिङ प्रयोगकर्ता थिए । गत आवमा यस्ता प्रयोगकर्ताको सङ्ख्या २ करोड ३५ लाख ६ हजार थियो ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि पछिल्लो तीन वर्ष अवधिमा २१ दशमलव ६५ प्रतिशतले बढेको छ । चालू आवको माघसम्ममा यस्ता प्रयोगकर्ता २१ लाख ४१ हजार ६०४ रहेका छन् । आव २०७९/८० को माघसम्ममा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ६४ हजार ८०१ थियो । गत वर्षको माघसम्ममा १८ लाख ३५ हजार ८४९ जनाले इन्टरनेट बैंकिङ प्रयोग गरेका थिए ।
त्यस्तै चालू आवको माघसम्ममा डेबिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या १ करोड ३४ लाख ५७ हजार पुसगसकेको छ । आव २०७९/८० मा यस्तो प्रयोगकर्ताको सङ्ख्या १ करोड २३ लाख ५ हजार थियो । अर्थात् तीन वर्ष अवधिमै डेबिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या ९ दशमलव ३६ प्रतिशतले बढेको छ ।
चालू आवको माघसम्मा क्रेडिट कार्ड र प्रिपेइड कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या क्रमशः ३ लाख ८ हजार ४२३ र २ लाख २८ हजार ३२५ रहेको छ । आव २०७९/८० मा यस्ता प्रयोगकर्ताको सङ्ख्या क्रमशः २ लाख ७८ हजार ३२३ र १ लाख २५ हजार ७९ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघसम्ममा ५४ वटा बैंकिङ संस्था छन् । यी संस्थाका ६ हजार ५०१ वटा शाखा कार्यालय छन् । सो अवधिमा ५ करोड ७९ लाख ६२ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।