काठमाडौं, २७ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २१ अङ्कले घटेर दुई हजार ७१९ दशमलव २ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ३३ धितोपत्रको शेयर मूल्य बढ्दा २०८ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३०३ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक मात्र बढेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशत घटेको छ । लगानी १ दशमलव ८९, व्यापार १ दशमलव ७९, अन्य १ दशमलव ६८ र फाइनान्स १ दशमलव ५७ प्रतिशतले घटेको छ ।
आज लक्ष्मी सन्राइज बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकको ९ दशमलव ९८, विन नेपाल लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ८, ज्योति विकास बैंकको ३ दशमलव ३५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसैगरी नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ६९, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ५ दशमलव ३६, हिमालयन पावर पार्टनरको ४ दशमलव ७२ र राप्ती हाइड्रोको ४ दशमलव ६८ प्रतिशतले मूल्य घटेको छ ।