काठमाडौं, २८ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको बढेको छ । हिजो बुधबार १३ दशमलव ९० अङ्कले बढेको परिसूचक आज ५ दशमलव ५७ अङ्कले घटेर दुई हजार ६७० दशमलव ७ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ११४ धितोपत्रको शेयर मूल्य बढ्दा १३१ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घट्दा ४ उपसमूहको परिसूचक मात्र बढेको छ । आज माइक्रो फाइनान्स उपसमूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । यसपिछ म्युचुअल फण्डको शून्य दशमलव १५, हाइड्रोपावरको शून्य दशमलव ९ र विकास बैंकको उपसमूहको परिसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । यसदिन उत्पादन तथा प्रशोधन शून्य दशमलव ८७, फाइनान्स शून्य दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ४१ र निर्जीवा बीमा उपसमूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।
बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ । यसदिन बोटलर्स नेपाल (बालाजु)को ४ दशमलव ३७, हिमालय पावर पार्टनरको २ दशमलव ७२ र नेपाल रिपब्लिक मेडियाको शेयर मूल्य २ दशमलव ४५ प्रतिशतले ह्रास आएको छ ।