काठमाडौं, १० वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ६५५ दशमलव ८८ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड १७ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ३२ करोड १२ लाख बराबरको कारोबार भएको थियो ।
आज २८ धितोपत्रको शेयर मूल्य बढ्दा २१७ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३०८ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये १२ को उपसूचक घटेको छ भने एकको मात्र बढेको छ । म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले बढेको छ । यसदिन विकास बैंक १ दशमलव ८८, अन्य १ दशमलव ८३, लगानी १ दशमलव ७९ र हाइड्रोपावर १ दशमलव ७५ प्रतिशतले घटेको छ ।
आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको ९ दशमलव ९९ र राधि विद्युत्को शेयर मूल्य ३ दशमलव ८ प्रतिशतले बढेको छ ।
यसदिन कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मकर जितुमय सुरी हाइड्रोपावर ५ दशमलव ५ र सिन्धु विकास बैंक ५ दशमलव ०४ प्रतिशतले शेयर मूल्य ह्रास आएको छ ।