काठमाडौं, १३ जेठ । चालू आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालू आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमतीको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान गरिएको हो ।
गत आव २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २ हजार ६०२, गण्डकी प्रदेशको एक हजार ६१९, कोशी प्रदेशको एक हजार ४०१, लुम्बिनी प्रदेशको एक हजार २०१, सुदुरपश्चिम प्रदेशको एक हजार १५३, कर्णाली प्रदेशको एक हजार ८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
यस्तै राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा एक हजार ४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।
स्रोत :राष्ट्रिय तथ्याङ्क कार्यालय