काठमाडौं, २४ असार । चालू आर्थिक वर्ष २०८१/८२ को जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७२ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १ दशमलव ४५ प्रतिशत बिन्दुले कम हो । गत आवको सोही जेठमा यस्तो मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ३१ प्रतिशत बिन्दुले घटेको छ । गत आवको जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ८५ प्रतिशत रहेकोमा यस वर्षको जेठमा शून्य दशमलव ५४ प्रतिशतमा झरेको छ ।
त्यसतै गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यो समूहको मुद्रास्फीति ३ दशमलव ०७ प्रतिशत रहेको थियो ।
चालू आवको जेठमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको छ ।
यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.४३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९० प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६६ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेशगत रूपमा समीक्षा महिनामा कोशीको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८ प्रतिशत, मधेशको २.५२ प्रतिशत, बागमतीको २.२९ प्रतिशत, गण्डकीको १.७५ प्रतिशत, लुम्बिनीको २.३९ प्रतिशत, कर्णालीको २.५४ प्रतिशत र सुदूरपश्चिमको ३.८६ प्रतिशत रहेको छ ।
त्यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७३ प्रतिशत, तराईको २.५८ प्रतिशत, पहाडको २.४८ प्रतिशत र हिमालको ४.१८ प्रतिशत रहेको छ ।