काठमाडौं, २५ असार । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को ११ महिनामा मार्जिन प्रकृतिको ३८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा जेठसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ८२ दशमलव ८१ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
चालू आवको ११ महिनामा मार्जिन प्रकृतिको कर्जामा ठूलो कर्जा लिने सबैभन्दा बढी बढेका छन् । सो अवधिमा १ करोड भन्दा बढी कर्जा लिने ५८ दशमलव १ प्रतिशतले बढेको छ । यस्तो कर्जा आवको पहिलो महिना साउनमा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो भने जेठसम्म आइपुग्दा बढेर ८८ अर्ब ४२ करोड रुपैयाँ कायम भएको हो ।
त्यस्तै सो अवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा लिनेहरू २३ दशमलव १ प्रतिशतले बढेको छ । यसपछि २५ लाखदेखि ५० लाखसम्म कर्जा लिनेहरू १७ प्रतिशत र २५ लाख भन्दा कम कर्जा लिनेहरू १० दशमलव ४ प्रतिशतले बढेको छ । आवको ११ महिनामा २५ लाख भन्दा कम कर्जा लिने शून्य दशमलव ४ प्रतिशतले ह्रास आएको छ ।