नेपालबाट पहिलोपटक सिम्यान्स अभिलेख किताब’ जारी, विदेशबाट लिनुपर्ने बाध्यता हट्यो
काठमाडौं, २६ असार । नेपाल सरकारले पहिलोपटक ‘सिम्यान्स अभिलेख किताब’ जारी गरेको छ ।
राहदानी विभागले पानी जहाजमा काम गर्ने व्यक्तिहरुलाई विभिन्न देशमा आवतजावत गर्दा आवश्यक पर्ने ‘सिम्यान्स अभिलेख किताब’ पहिलो पटक जारी गरेको हो ।
बुधबार विभागले इलामका अमित कुमार सिंहलाई उक्त किताब हस्तान्तरण गर्दै यसको सुरुवात गरेको हो । यससँगै पानीजहाजमा काम गर्ने नेपालीहरूले विदेशबाट सिम्यान्स बुक लिनुपर्ने बाध्यता अन्त्य भएको छ ।
विभागका अनुसार डेल्टा कोर्प सिप म्यान्याजमेन्ट कम्पनीमा कार्यरत इलाम सूर्याेदय नगरपालिका ४ का अमित कुमार सिंह उक्त किताब प्राप्त गर्ने पहिलो व्यक्ति भएका छन् ।
राहदानी विभागले वि.सं. २०७८ देखी विद्युतीय राहदानी जारी गर्न प्रारम्भ गरे सँगै सिम्यान्स अभिलेख किताबको व्यवस्था गरेको भएतापनि हालसम्म जारी गरिएको थिएन ।
यसअघि नेपालमा यो किताब उपलब्ध नहुँदा पानीजहाजमा काम गर्ने नेपालीहरूले अन्य देशबाट लिनुपर्ने बाध्यता थियो । ‘नेपालको सिम्यान्स अभिलेख किताब नुहुँदा अन्य देशको सिम्यान्स अभिलेख किताब लिने गरिएकोमा हालका दिनमा त्यस्तो किताब लिन असहज हुने र लिएमा पनि कतिपय मुलुकले मान्यता नदिने, पानी जहाज किनारामा रोकिँदा आफू बाहिर निस्कन नपाउने र रोजगारी पाउन निकै गाह्रो हुन्छ,’ अमित सिंहले भने ।
विभागका महानिर्देशक तीर्थराज अर्यालले सिंहलाई बधाई दिँदै नेपालबाटै सिम्यान्स अभिलेख किताब जारी हुँदा भविष्यमा नेपाली नागरिकलाई सहजता पुग्ने विश्वास व्यक्त गरे ।