काठमाडौं, २६ असार । गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी ‘सुप्राग्लेशियल’ ताल विस्फोटका कारण भएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
विभागले बिहीबार ११ बजे एक बुलेटिन जारी गर्दै ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जनाएको छ ।
‘रसुवागढी स्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटर माथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्रि सतहबाट करिब ५१५० मि. उचाई) लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । चित्र १ (क) अध्ययन गर्दा हिमनदीको करिब बीच भूभागमा विकास भएको ‘सुप्राग्लेशियल’ ताल (हिमताल ) करिव ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ,’ विभागले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तुलनात्मक अध्ययनले तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । उपरोक्त विवरणहरुले उक्त समयावधीमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ ।’
यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको । यसका साथै साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले थप पुष्ट्याइँ दिन सक्ने विभागले भनेको छ ।
विभागले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ ।’