काठमाडौं, ६ साउन । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ आजदेखि खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
यो शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानियले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुनेसम्म आवेदन दिनुपर्नेछ ।
स्थानिय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सक्नेछन् ।