काठमाडौं, २६ साउन । माबिलुङ्ग इनर्जी लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओको वितरण प्रक्रिया पूरा भइसकेको सर्वसाधारणका लागि खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्दैछ । यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र बाँकी १३ लाख ५४ हजार २३५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको भागभित्र ३० हजार ९५ कित्ता कम्पनीका कर्मचारी, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि राखिएको छ । बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता साधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् ।
यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदनको अवधि साउन २९ गतेसम्म रहनेछ ।