काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनामा साढे ३ खर्ब बढीको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको भदौसम्ममा नेपालले विभिन्न मुलुसँग ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ५४ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा नेपालले २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
चालू अवको २ महिनामा भएको कुल व्यापारको ७३ प्रतिशत नेपालको पक्षमा छैन । सो अवधिमा नेपालले २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।
यसैगरी पछिल्लो एक वर्ष अवधिमा निर्यात ८८ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा २५ अर्ब ९ करोड मुल्य बराबरको वस्तु निर्यात गर्दा यो वर्षको यसै अवधिमा४७ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
भदौसम्ममा नेपालले ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १६ दशमलव २३ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।