काठमाडौं, ८ असोज । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान गोलाप्रथा मार्फत बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्कासन गरेको थियो । उक्त शेयरमा १८ लाख ६८ हजार १४१ आवेदकले करिब २ करोड ३ लाख ५१ हजार ६७० कित्ताका लागि आवेदन दिएका थिए । यामध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएको र बाँकी आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
मागभन्दा धेरै आवेदन परेकाले शेयर बाँडफाँट गोलाप्रथा प्रणालीमार्फत गरिएको हो । सो प्रक्रिया अनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी शेष रहेको ६ कित्ता शेयर ६ जनालाई १–१ कित्ताका दरले थप वितरण गरिएको छ ।