काठमाडौं, १३ कात्तिक । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव २२ अङ्कले बढेको छ । यो वृद्धिसँँगै परिसूचक २ हजार ६ दशमलव ३८ को बिन्दुमा बन्द भएको छ । बुधबार ५.१७ अङ्कले घटेको नेप्से बढेर २,५६६ को बिन्दुमा कायम थियो ।
आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ४५ करोड कारोबार भएकोमा आज ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ६० लाख १० हजार २१८ कित्ता शेयर ५३ हजार ११३ पटक किनबेच भएको छ ।
बिहीबार ३१९ धितोपत्र कारोबारमा आए, जसमध्ये २१६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै २८ धितोपत्रको मूल्य घटेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० म्युचुअलफण्ड बाहेक सबै समूहको उपसूचक बढेको छ । आज हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमाको १.८०, निर्जीवन बीमाको १.७५, उत्पादनमुलक समूहको १.७४, फाइनान्स र माइक्रोफाइनान्सको १.६०, विकास बैंकको १.२३, लगानी समूहको १.३५ र अन्य समूहको उपसूचक १.०६ प्रतिशतले बढेको छ ।
बिहीबार गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरको ९.५४, गणपति लघुवित्तको ९.४६, पिपुल्स हाइड्रोपावरको ९.०८ र नेपाल माइक्रो इन्स्योरेन्सको ८.१६ प्रतिशतले बढेको छ ।
आज आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशत घटेको छ । उपकार लघुवित्तको ३.९६, हिमालयन पावर पार्टनरको ३.७५ र तारागाउँ रिजेन्सीको २.७० प्रतिशतले शेयर मूल्य घटेको छ ।
