काठमाडौं, २५ मंसिर । गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ७८१ वटा बीमा दाबी परेको छ, जसमध्ये ६७ वटा दाबीको १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँको ४१० वटा दाबीको परेको थियो, जसमध्ये ८३ लाख रुपैयाँ भुक्तानी भएको छ ।
त्यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव रू. ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव ४ करोड १४ लाख रुपैयाँमध्ये कूल ३१ दाबीको १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव ८७ लाख रुपैयाँ बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको १० लाख रुपैयाँ बीमा दाबीमध्ये एउटा दाबीको ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख रुपैयाँ र लघुबीमातर्फ २ वटा दाबीको १२ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
