सुनिता सुबेदी
काठमाडौं, २३ माघ । पछिल्ला महीनामा नेपालमा उपभोक्ता मुद्रास्फीति घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुसमा उपभोक्ता मुद्रास्फीति ५ दशमलव २६ प्रतिशत रहेको छ, जुन गत आवको सोही महीनाको तुलनामा २ प्रतिशत विन्दुले कम हो । गत आवको पुसमा यस्तो मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत थियो ।
चालू आवको पहिलो र दोस्रो महिनामा मुद्रास्फीति उच्च थियो । पहिलो महिना (साउन)मा ७ दशमलव ५२ प्रतिशत रहेको मुद्रास्फीति दोस्रो महिना (भदौ)मा बढेर ८ दशमलव १९ प्रतिशत पुगेको थियो ।
चालू आवको तेस्रो महिनादेखि भने मुद्रास्फीति क्रमशः घट्दै गएको तथ्याङ्कले देखाउँछ । असोज महिनामा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ५० प्रतिशतमा झरेको थियो । यस्तै कात्तिकमा २ दशमलव १२ प्रतिशत विन्दुले घटेर ५ दशमलव ३८ प्रतिशतमा आएको थियो । त्यस्तै मंसिर महिनामा मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत छ ।
गत पुसमा सबैभन्दा कम मुद्रास्फीति गैर खाद्य तथा सेवा समूहको छ । राष्ट्र बैंकका अनुसार गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ८५ प्रतिशत छ, जुन गत आवको पुसको तुलनामा ३ दशमलव ७२ प्रतिशत विन्दुले घटेको हो । गत आवको सोही महिना यो समूहको मुद्रास्फीति ८ दशमलव ५७ प्रतिशत थियो ।
यसैगरी खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने शून्य दशमलव १५ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ । पुसमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५ दशमलव ७७ प्रतिशत छ । गत आवको सोही अवधिमा यो समूहको मुद्रास्फीति ५ दशमलव ६२ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत वार्षिक बिन्दुगत मूल्य सूचकांकमा घ्यू तथा तेल १३.०७ प्रतिशत, तरकारी १.०४ र मासु तथा माछा उप–समूहको ०.०६ प्रतिशतले घटेको छ । त्यस्तै मरमसला उप–समूहको ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८, दाल तथा गेडागुडीको ११.१४, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ र फलफूलको १०.१५ प्रतिशतले वार्षिक बिन्दुगत मूल्य सूचकांक घटेको रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै गैर खाद्य तथा सेवा समूह अन्र्तगत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १ दशमलव ६२ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृति उप–समूहको १२ दशमलव ८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.७३, शिक्षा ८.९२, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.१८ र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।