काठमाडौं, २४ माघ । पछिल्लो एक वर्षको अवधिमा बैंक तथा वित्तीय सस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत आवको पुससम्मको तुलनामा १ प्रतिशत विन्दुले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह १ खर्ब ३७ अर्ब ३३ करोड रुपैयाँ थियो । वार्षिक बिन्दुगत आधारमा चालू आवको पुससम्ममा निजीक्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित भएको कर्जामध्ये सबैभन्दा धेरै गैरवित्तीय संंस्थागत क्षेत्रतर्फ छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा गैर वित्तीय सस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव २ प्रतिशत छ, जुन गत आवको सोही अवधिको तुलनामा १ दशमलव ७ प्रतिशतले कम हो । गत आवको पुससम्ममा प्रवाहित कर्जामध्ये ६४ दशमलव ९ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको थियो ।
दोस्रोमा व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ८ प्रतिशत रहेको छ, जुन गत आवको पुषको तुलनामा १ दशमलव ७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३५ दशमलव १ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ कर्जा प्रवाह भएको थियो ।
यस्तै पहिलो ६ महिनामा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये सबैभन्दा धेरै विकास बैंकको बढेको छ । निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा विकास बैंकहरुको ४ दशमलव ४ प्रतिशतले बढेको छ । त्यस्तै वाणिज्य बैंकको ४ र वित्त कम्पनीहरुको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।