सुनिता सुबेदी
काठमाडौँ, २५ माघ । पछिल्लो एक वर्षको अवधिमा सरकारले लिँदै आएको आन्तरिक कर्जा घटेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा सरकारले लिँदै आएको आन्तरिक कर्जा शून्य दशमलव २ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा कुल २ दशमलव ८ प्रतिशत रहेको आन्तरिक कर्जा घटेर चालू आवको ६ महिनामा २ दशमलव ६ प्रतिशतमा झरेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा यस्तो कर्जा ८ दशमलव ६ प्रतिशतले बढेको छ ।
गत आवको पुसमा मौद्रिक क्षेत्रको सरकार माथिको खुद दाबी बढेकोमा यो वर्ष यस्तो दाबी घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा मौद्रिक क्षेत्रको सरकार माथिको खुद दाबी १ दशमलव ६ प्रतिशतले बढेको थियो भने चालू आवको ६ महिनामा यस्तो दावी ८.४ प्रतिशतले घटेको छ । सोही अवधिमा वार्षिक बिन्दुगत आधारमा सरकारको खुद दाबी २२ दशमलव १ प्रतिशतले बढेको छ ।
यस्तै ६ महिनामा मौद्रिक क्षेत्रको सरकार माथिको खुद दाबी घट्दा निजी क्षेत्रको भने बढेको छ । समीक्षा अवधिमा गत आवको पुसको तुलनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १ दशमलव २ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३ दशमलव ३ प्रतिशतले बढ्दा चालू आवको सोही अवधिमा यस्तो दाबी ४ दशमलव ५ प्रतिशतले बढेको छ । त्यस्तै वार्षिक बिन्दुगत आधारमा पुससम्ममा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।