सुनिता सुबेदी
काठमान्डौँ, २५ माघ । पछिल्लो एक वर्षको अवधिमा नेप्से सूचकाङ्क घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्ममा नेप्से सूचकाङ्क २१ सय २० दशमलव ६२ बिन्दु कायम भएको छ, जुन गत आवको पुससम्मको तुलनामा २८ दशमलव ७७ बिन्दुुले कम हो । गत आवको सोही अवधिमा २१ सय ४९ दशमलव ३९ बिन्दु थियो ।
यस्तै अर्धवार्षिक अवधिमा धितोपत्र बजार पुँजीकरण भने बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकका अनुसार ६ महिनामा बजार पँुजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँमा कायम छ । यो रकम गत आवको पुससम्मको तुलनामा ७ दशमलव ३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १६ करोड थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार पुससम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत हुने कम्पनीहरूको सङ्ख्या २ सय ७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ९१ जलविद्युत कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।
यस्तै सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यस्तै जलविद्युत कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको ७.७, उत्पादन तथा प्रशोधन उद्योगको ५.४, होटेलको ३.१, व्यापारिक संस्थाको ०.५ र अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्ता मूल्य रु.८ खर्ब ९ अर्ब ८३ करोड रहेको छ । चालू आवको छ महिनामा ६४ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण शेयर छ । त्यस्तै बोनस शेयर ९ अर्ब ५३ करोड, हकप्रद शेयर ६ अर्ब १० करोड र एफपीओ ३ करोड रुपैयाँ गरी ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल .२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।